काठमाडौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उहाँले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिनुुभयो ।
उहाँले भन्नुभयो, “ आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।”जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उहाँको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उहाँलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नुभएको हो । जेन–जी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)





























































































































































