आलेखः फूलखेतीमै रमाएका कृषकहरु

वालिङ (स्याङ्जा),  केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको छ ।

 

 

पछिल्ला वर्षहरुमा जिल्लाभित्रका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक उत्पादन थालिएसँगै फूल तथा माला बिक्रीबाट जिल्लामा आर्थिक उपार्जन गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ । छोटो अवधि एकै यामबाट राम्रो आम्दानी हुने र बजारमा माग अत्याधिक हुँदा बजारीकरणको समस्या नहुने भएकाले पनि पछिल्लो समय यहाँका कृषकहरु यतातिर आकर्षिक भएका हुन् ।

 

 

कालीगण्डकी गाउँपालिकाले यहाँका कृषकहरुलाई फूलखेतीको सम्भावनाका बारेमा जानकारी दिने र फूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा फूलखेती गरेको थियो । पालिकाले थालेको फूलखेतीबाट उत्पादन तथा आम्दानी राम्रो भएपछि यहाँका कृषकहरु ह्वात्तै यसतर्फ आकर्षित भएका हुन् । अहिले गाउँपालिकाका कृषकले ठूलो परिमाणमा व्यावसायिक फूलखेती गरेका छन् ।

 

 

कृषकहरुले दसैँ तथा तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार दसैँ, तिहारको अवधिमा सयपत्री फूलका थुङ्गा तथा माला बिक्री गरेर रु १६ लाख २० हजार आम्दानी गरेका हुन् ।

 

 

दसैँ तथा तिहारमा फूल तथा माला बिक्रीबाट राम्रो आम्दानी गरेका कृषकहरुका बारीमा अझै पनि टन्नै फूलहरु फुलिरहेका छन् । असारमा दुई चरणमा लगाएका फूलहरुको उत्पादन पनि दसैँ, तिहार लक्षित गरेर हुने गरेको छ । दोस्रो चरणमा लगाएका फूलहरुको उत्पादन मङ्सिरको अन्तिमसम्म लिन सकिने कृषि अधिकृत पौडेलले बताउनुभयो ।

 

 

कालीगण्डकीसहित जिल्लाभरका कृषकहरुले गत वर्षभन्दा यस वर्ष फूल बिक्रीबाट आम्दानी पनि वृद्धि गरेका हुन् । कालीगण्डकीका कृषकहरुले सयपत्री फूल बिक्रीबाट गतवर्ष मात्रै रु १५ लाख आम्दानी गरेका थिए । बारीमा अझै पनि फूल फुलिरहेकाले आम्दानी पनि स्वतः वृद्धि हुने कुषि अधिकृत पौडेल बताउनुहुन्छ ।

कालीगण्डकी गाउँपालिकाअन्तर्गत विभिन्न वडाका २२ जना कृषकले व्यावसायिकरुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । बाइस जनाले ३० रोपनीभन्दा धेरै क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् । गाउँपालिकाले कृषकहरुलाई सयपत्री फूलखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप फूलको बीउ तथा अनुदान रकम उपलब्ध गराएको थियो । गाउँपालिकाभित्रका सामुदायिक घरबास (होमस्टे) हरुमा पाहुनाहरुको स्वागत सत्कारका लागि प्रयोग गर्ने गरी फूल लगाउने अभियान अगाडि बढाइएको थियो ।

कालीगण्डकी गाउँपालिका–३ लसर्घा देउरालीका रेमनसिंह सोमैले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्नुभएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उहाँले ‘कर्मा ५५५’ र कलकत्ते जातको सयपत्री फूल खेती गर्नुभएको हो । गतवर्ष परीक्षणको रुपमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष थप विस्तार गरेर खेती गरेको उहाँले बताउनुभयो । “गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेको थिएँ” उहाँले भन्नुभयो, “बजारमा फूलको माग अत्याधिक भई खपत भएकाले यस वर्ष पनि थप विस्तार गरी फूलखेती गरेको हुँ ।”

गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएका उहाँले यस वर्ष तीन रोपनी क्षेत्रफलमा झण्डै दुई हजार फूलका बेर्ना लगाउनुभएको हो । यहाँ उत्पादन भएको फूल गाउँपालिकाले बजारीकरणको व्यवस्थासमेत गरिदिएकाले बजारको कुनै समस्या नभएको हो । कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा फूलको न्यूनतम् मूल्य निर्धारण गरिएको हो । “यहाँ उत्पादन भएको फूल थोकमा प्रतिकेजी रु. तीन सय र फुटकरमा रु ३५० का दरले बिक्री गर्छौं”, उहाँले भन्नुभयो, “दुई चरणमा लगाएको फूलमध्ये पहिलो चरणअर्थात् असारमा लगाएको फूल बिक्री भइसकेको छ ।”

उत्पादन भएको फूल बुटवल, गुल्मीको रिडी तथा स्थानीय बजारहरुमा बिक्री भएको उहाँले बताउनुभयो । गत वर्ष फूलको मूल्य कम रहेकाले अपेक्षाअनुसार आम्दानी नभएको र यसपालि मूल्य राम्रो निर्धारण भएकाले पनि आम्दानीमा वृद्धि हुने विश्वास उहाँको छ । “गत वर्ष एकै याममा रु दुई लाख ५० हजार आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष क्षेत्रफल, बेर्ना र मुल्य पनि बढेकाले आम्दानी पनि बढ्छ, करिब चार लाख आम्दानी हुने अपेक्षा गरेको छु ।” गत वर्ष माला बनाएर बिक्री गर्दा पनि अपेक्षाअनुसार आम्दानी गर्न नसकेकाले यसवर्ष मालाभन्दा पनि फूलका थुङ्गा बिक्रीमा जोड दिनुभएको छ ।

गाउँपालिका आफैँले व्यावसायिक रुपमा फूलखेती गरेको छ । व्यावसायिक फूलखेती गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै बजारीकरणको समेत व्यवस्था गरिदिएकाले गाउँपालिका नै फूलमय बन्न पुगेको छ । यहाँबाट बर्सेनि लाखौँ मूल्यको फूल देशका विभिन्न सहरहरुमा पुग्ने गरेको छ । कालीगण्डकी–१ का व्यावसायिक कृषक हीरामणि सुवेदीले यसपालिको दसैँ, तिहारको अवधिमा होलसेलमा रु ३०० र फुटकरमा रु ४०० प्रतिकेजीका दरले फूलका थुङ्गा बिक्री गर्नुभयो । गत वर्षभन्दा यस वर्ष फूलको उत्पादन र मूल्य राम्रो पाईएकाले आम्दानी वृद्धि भएको उहाँले बताउनुभयो । उहाँले दसैँ, तिहारको अवधिमा मात्रै रु एक लाख ५० हजार आम्दानी गर्नुभयो ।

कालीगण्डकी–२ कि पुष्पा सिञ्जाली राना, वडा नं ५ का रविलाल गौडेल, वडा नं ६ का युवराज अधिकारी र वडा नं ७ का घनबहादुर थापाले दसैँ, तिहारको अवधिमा रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको कृषि अधिकृत पौडेलले जानकारी दिनुभयो । गत असारमा शिक्षण पेशाबाट अवकास लिनुभएका स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुल्सीराम भण्डारीले फुर्सदको समयलाई फूलखेतीमा लगाएर वर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

भण्डारीले महान् चाडहरु दसैँ, तिहार, छठ पर्वलगायतका धार्मिक कार्यहरुलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्नुभएको थियो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुने गरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो । “शिक्षण पेसामा रहँदै गर्दा पनि बिहान–बेलुकाको समयमा थोरै मात्रामा फूल खेती गरेको थिएँ”, उहाँले भन्नुभयो, “फूलखेतीबाट राम्रै आम्दानी हुने देखेपछि अहिले त झन पूरै समय फुर्सद भएकाले व्यावसायिकरुपमा फूल खेती थालेको हुँ ।”

बाँदरले अन्नबाली नष्ट गरिदिएपछि अन्नबालीको विकल्पका रुपमा सयपत्री फूलखेती थालेको उहाँले बताउनुभयो । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका भण्डारीले माग अनुसार फूल पु¥याउन नसकेको बताउनुभयो । “सयपत्री फूल तथा मालाको माग अत्याधिक भएको छ”, उहाँले भन्नुभयो, “माग भएबमोजिम उपलब्ध गराउन सकिएको छैन ।”

यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ । उहाँले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको हो । उहाँले गर्नुभएको व्यावसायिक फूलखेतीमा पत्नी सरस्वती भण्डारी, छोराहरु बासु र रामचन्द्रले पनि साथ दिनुभएको छ । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफँै पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरुले गर्दै आएका उहाँले बताउनुभयो ।

उहाँले फूलका थुङ्गा होलसेलमा प्रतिकेजी रु ३००, फुटकरमा प्रतिकेजी रु ४०० देखि रु ४५० र माला प्रतिगोटा रु ९० सम्म बिक्री गर्दै आउनुभएको छ । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म झण्डै रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारहरुबाट फूल तथा मालाको माग आइसकेको उहाँले बताउनुभयो । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो” उहाँले भन्नुभयो, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”

गत वर्ष एकै याममा फूल तथा माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएका उहाँले यस वर्ष रु १० लाख बढी आम्दानी हुने बताउनुभयो । साठी वर्षीय भण्डारीले दसैँ, तिहारको अवधिमा मात्रै माला बिक्रीबाट रु दुई लाख ५६ हजार १६० आम्दानी गर्नुभयो । फूलका थुङ्गा बिक्रीबाट रु चार लाख सात हजार ५० आम्दानी गर्नुभएको हो । उहाँले सयपत्री फूलका बिरुवा÷बेर्ना बिक्रीबाट पनि रु ५३ हजार आम्दानी भएको जानकारी दिनुभयो । बजारको माग र उत्पादन पनि सोही अनुसार हुँदा यसपालि राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ । भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ ।

शिक्षकका रुपमा गाउँकै विद्यालयमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुभएका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको हो । बाँझो जमिनको सदुपयोग गर्दै आगामी दिनमा फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजनामा उहाँ हुनुहुन्छ ।

वालिङ–१४ भङ्गेनीका युवा कृषक प्रकाश डुम्रेले पनि विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । उहाँले वालिङ बजार नजिकै तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ । दसैँ, तिहारजस्ता चाडपर्व लक्षित बिवाह, ब्रतबन्धजस्ता धार्मिक, सांस्कृतिक तथा विशेष मेला महोत्सवहरुमा उहाँले फूल तथा माला बिक्री गर्दै आउनुभएको छ । फूलका थुङ्गा प्रतिकेजी रु ३५० देखि ४०० र प्रतिमाला रु १२० का दरले बिक्री गर्नुभएका डुम्रेले बर्सेनि राम्रो कमाइ गर्दै आउनुभएको छ ।

स्थानीय व्यापारी तथा व्यक्तिहरुले पनि फोन सम्पर्क गरी माला तथा फूलको माग गर्ने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । गत आर्थिक वर्ष २०७५÷७६ मा वालिङ नगरपालिकाबाट रु एक लाख अनुदानसमेत उहाँले प्राप्त गर्नुभएको थियो । नगद अनुदानभन्दा पनि गुणस्तरीय बीउबिजन तथा उपकरणहरु दिएमा आफूजस्ता किसानलाई थप प्रोत्साहन मिल्ने उहाँको भनाई छ । जिल्लामा फूल उत्पादनको परिणामका बारेमा कृषि ज्ञान केन्द्रमा यकिन तथ्याङ्क छैन । फूल उत्पादन गर्ने व्यवसायीहरुको समूह बनाउने तयारीमा कृषि ज्ञान केन्द्र रहेकाले अबका दिनमा मात्रै जिल्लामा फूलको उत्पादन, आयात, निर्यात तथा कारोबारका बारेमा विवरण आउने कार्यालयका सूचना अधिकारी विकास विकले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९