अदानचुली (हुम्ला), हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगालागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाकोे झ्यालबाट आगालागी सुरु भएको थियो ।
अगालागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताउनुभयो । उहाँका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगालागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन् ।
कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्माेनियम, क्यासियो, ड्रमसेट, २०५२ साल देखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताउनुभयो । उहाँका अनुसार भौतिक संरचनासहित रु दुई बरोड बराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ ।
विद्यालय नजिक बस्ती तथा आगो बाल्ने घरसमेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगालागी गरेको हुनसक्ने आशङ्का गरिएको विद्यालयका शिक्षक जमानसिंह परियारले बताउनुभयो । आगालागी भएको समयमा कार्यालय कोठाको ढोका खुल्ला रहेको पाइएको उहाँको भनाइ छ । उहाँका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































