कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।
वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा मिलमा लैजाँदै गर्दा गोप्य सूचनाको आधारमा वन कार्यालयको टोलीले बाटोमै नियन्त्रणमा लिएको हो। सो क्रममा चौधरीलाई समेत नियन्त्रणमा लिइएको वन कार्यालयले जनाएको छ।
सव–डिभिजन वन कार्यालय बर्दगोरियाका प्रमुख शेरबहादुर भण्डारीका अनुसार करिब १० क्युविक फिट सालको गोलिया बरामद गरिएको छ। बरामद गरिएको सालको गोलिया ४.३९ फिटको रहेको र १.३५, २.०६ र २.२५ फिटका अन्य बल्लाबल्ली काठ समेत बरामद गरिएको उहाँले बताउनुभयो।
भण्डारीका अनुसार बरामद गरिएको सालको गोलिया, डलप, गोरु तथा नियन्त्रणमा लिइएका व्यक्ति कार्यालयमा राखिएको छ र यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।





























































































































































