
राजधानीको बानेश्वरस्थित एक घरमा शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाद्वारा जुन किसिमको दुर्व्यवहार भयो, त्यो अमर्यादित तथा अभद्र मात्र होइन, दण्डनीयसमेत छ ।
विवेक हुँदैन भनिने भीडभित्रै पनि व्यक्ति–व्यक्तिमा विवेक खोजिन्छ । एउटाले बाटो बिराउँदा ‘यसो गर्नु हुँदैन’ भन्ने अर्को कोही हाजिर हुन्छ । तर स्वास्थ्यकर्मीहरूविरुद्ध ओर्लिएको उक्त समूह कुनै भीड थिएन । न उनीहरू आपसमा अपरिचित थिए, न त असंगठित । उनीहरू त्यहीँको टोल विकास समितिका पदाधिकारी थिए, जो हूल बाँधेर चिकित्सक र स्वास्थ्यकर्मीहरू ‘आइसोलेसन’ मा बसिरहेको होस्टल घेराउ गर्न पुगेका थिए । मान्छे हुनुको सम्पूर्ण कर्तव्य बिर्सेर उनीहरू अहिलेको विषम परिस्थितिमा जनताको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरूलाई आफ्नो टोलबाट निकाल्न चाहन्थे । यस्तो अमानवीय र असंवेदनशील क्रियाकलापमा संलग्न हुनेहरूलाई प्रशासनले आवश्यक अनुसन्धान गरी अविलम्ब कारबाही गर्नुपर्छ ।
बानेश्वरमा मात्र होइन, देशभरि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना एउटा प्रवृत्तिजस्तै गरी देखिन थालेको छ । चाहे चितवनमा एक चिकित्सकको घरमा ‘कोरोना संक्रमित’ लेखिएको ब्यानर टाँग्न खोजिएको मामिला होस् या मुलुकका अन्य कैयौं स्थानमा स्वास्थ्यकर्मीमाथि भएका अपमानका घटनाहरू, यी सबै हाम्रो समाजको शिर निहुर्याउने किसिमका छन् । यतिखेर चिकित्सा सेवाप्रति विश्वभरि नै आम विश्वास तथा भरोसा केन्द्रित भएको छ । तर यही बेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित तुल्याउने गरी यस्ता घटना हुनु आफैंमा अप्रिय र दुःखद छ ।
हालैको घटनाक्रमले के पनि देखाइरहेको छ भने, कोभिड–१९ संक्रमणको फैलावट शैलीबारे समाजमा पर्याप्त चेतना छैन । अहिलेसम्म उपलब्ध तथ्यअनुसार एउटै घरमा पनि दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, एकअर्काले मास्क लगाउने र एउटै शौचालय र भाँडाकुँडा प्रयोग नगर्ने हो भने संक्रमण सर्दैन । तर यहाँ त मानिसहरूले टोलको कुनै छुट्टै घरमा बस्दा या एउटै बाटो प्रयोग गर्दा पनि संक्रमण फैलिन्छजस्तो गरिरहेका छन् । कुनै घरमा संक्रमित, शंकास्पद संक्रमित वा स्वास्थ्यकर्मी बस्दा त्यहाँको सिंगो वायुमण्डल दूषित हुन्छजस्तो व्यवहार देखाइरहेका छन् । यो भ्रमको पाटोलाई सरकारी निकायले चिर्नुपर्छ । कोही स्वास्थ्यकर्मी कुनै घरमा बस्दैमा संक्रमण स्वतः फैलिने होइन भनेर बुझाउनुपर्छ । र, नागरिक आफैंले जानीजानी असंवेनदशीलता प्रदर्शन गर्नु हुँदैन ।
जोखिममा रहेर काम गरिरहेका हुन् या आफैं संक्रमित भएर प्रकोपसँग जुधिरहेकाहरू, सबैप्रति जोकोहीले समानुभूति राख्न सक्नुपर्छ । कम्तीमा सहानुभूतिसम्म पनि राख्न सकेनौं भने हामीभित्र मानवीय भावना छ कि छैन भन्ने प्रश्न उठ्नेछ । चिकित्सक, स्वास्थ्यकर्मी र अन्य संक्रमितप्रति यो बेला कुनै पनि सामाजिक अपहेलना स्वीकार्य छैन । पहिलो लहरमा उभिएर प्रकोप नियन्त्रणमा लागिरहेको जमातलाई घृणा गर्नु भनेको आफैंमा अतिवाद हो । यस्तो आत्मघाती व्यवहार महामारी र यसको प्रकृतिलाई नबुझ्नुको परिणाम मात्र होइन, अज्ञानताको पराकाष्ठा र विवेकहीनताको उत्कर्षसमेत हो । दण्डहीनता कायम रहेमा यो क्रम अझ बढ्न सक्नेछ । सिंगै समाजको चित्र यही नभए पनि भोलि केही घटनाले नै परिस्थिति बिगार्न सक्छन्, यो पक्षमा सम्बन्धित सबैले विचार पुर्याउनुपर्छ ।
हामी सबैले सोच्नुपर्छ— सम्मान र हौसला प्रकट गरेर मनोबल उच्च बनाउनुपर्ने स्वास्थ्यर्मीहरूलाई यसरी अपमानित गर्दा उनीहरूको मनोविज्ञानमा कस्तो असर पर्ला रु प्रकारान्तरमा यसले जनस्वास्थ्यमै कस्तो प्रभाव पुर्याउला रु किनभने, संक्रमण बढ्दो छ, कतिपय समुदायमा यो बिस्तारै घुस्दै छ । सरकारी अकर्मण्यता यस्तै रहिरहे तत्काल यो नियन्त्रणमा आउने छाँट देखिँदैन । यस्तो अवस्थामा संक्रमितको संख्यासँगै गम्भीर बिरामी पनि त्यहीअनुसार बढ्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा अझ बढी चाहिनेछ । र, आज जसले टोलछिमेकमा स्वास्थ्यकर्मीलाई हिँड्न–बस्न वर्जित गर्न चाहिरहेका छन्, उनीहरू पनि भोलि संक्रमणको मारमा नपर्लान् भन्ने छैन । त्यतिबेला तिनीहरूको उपचारमा खटिने पनि यिनै स्वास्थ्यकर्मी हुन् । तसर्थ, चिकित्सकले बचाइरहेको हरेक जिन्दगी आफू वा आफन्त जत्तिकै हो भनेर बुझ्न सबैले सक्नुपर्छ । उच्च मनोबल र सेवाभावले काम गर्नुपर्ने चिकित्सकहरूलाई कसैले पनि उल्टै अपमान गरी तनाव दिनु हुँदैन । आफू मात्रै जोगिऔं भन्नु संकीर्णताको हद नाघ्नु हो, यसले कुनै दिन आफैंलाई पनि जोगिन दिँदैन । त्यही भएर, अहिलेसम्म भएका घटनाका दोषीहरूमाथि आवश्यक कारबाही गरिनुपर्छ, ताकि अरूले फेरि यही हर्कत दोहोर्याउने धृष्टता गर्न नसकून् ।