काठमाडौँ, नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो ।
पैतीस रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रमा निर्माण भएको सभाहल र चमेनागृह सञ्चालनमा ल्याउन महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले निर्देशन दिएको छ । नारायणहिटी सङ्ग्रहालय परिसरभित्र सभाहल र चमेनागृहसँगै भूमिगत पार्किङ, सहिदस्तम्भ, नेपालको वस्तुस्थिति नक्सा र चार स्तम्भ रहेका छन् । नारायणहिटीको सङ्ग्रहालय र गणतन्त्र स्मारकलाई राष्ट्रको महत्वपूर्ण, ऐतिहासिक र सांस्कृतिक धरोहर बनाउँदै सहिदप्रतिको सम्मान व्यक्त गर्ने स्थलको संरक्षण र सम्वर्द्धन गरी पुरातात्विक वस्तुको प्रदर्शन गर्ने स्थलका रुपमा विकास गर्न समिति स्थापना भएको हो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































