बनियानी (झापा), झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
“उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ”, उहाँले भन्नुभयो, “तर, मृत्युदर भने बढेको छ ।” चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् ।
झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कूल एचआइभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताउनुभयो । स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका सङ्क्रमित बालबालिकाका लागि प्रतिमहिना रु एक/एक हजारको दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।
झापामा आव २०७९/८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८०/८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१/८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेको कार्यालयको तथ्याङ्क छ ।राष्ट्रिय समाचार समिति (रासस)





























































































































































