महेन्द्रनगर (धनुषा), मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले बालबालिकाको सिर्जनशीलता र प्रतिभा विकासका लागि कला प्रभावकारी प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।सामुदायिक परिवार कल्याण सङ्घ देवडिहा, धनुषाद्वारा प्लान इन्टरनेसनलको सहयोगमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत आज जनकपुरधाममा आयोजित बालबालिकाद्वारा निर्मित चित्रकला प्रदर्शनी तथा ‘आर्ट इज पावर’ कार्यशालाको समापन समारोहमा मन्त्री तत्माले कला समाज परिवर्तन, चेतना अभिवृद्धि तथा बालबालिकाको आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको बताउनुभयो ।
बालबालिकाले आफ्नो सोच, अनुभूति र समाजप्रतिको दृष्टिकोणलाई कलामार्फत प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै मन्त्री तत्माले यस्ता कार्यक्रमले उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशीलता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तीनदिने ‘आर्ट इज पावर’ कार्यशालामा सहभागी किशोरकिशोरीहरूले आफ्नो भोगाइ, सामाजिक सवाल, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा मधेस प्रदेशको समृद्धिसम्बन्धी आकाङ्क्षालाई चित्रकलामार्फत अभिव्यक्त गरेका छन् । कार्यशालापछि आयोजना गरिएको प्रदर्शनीमा २५ जना विद्यार्थीले निर्माण गरेका कलाकृति प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा मिथिला कला, संस्कृति, वनजङ्गल संरक्षण, वातावरणीय सचेतना, शिक्षा तथा स्वास्थ्यलगायत विविध विषय समेटिएका चित्रहरू राखिएका थिए । सहभागी बालबालिकाले आफ्ना कलाकृतिको प्रस्तुतीकरण गर्दै समाजका समसामयिक मुद्दा तथा बालबालिकासम्बन्धी विषयमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।
सांसद रामसरोज यादव, अनिता साह, रूपाकुमारी यादव तथा भाग्य श्री लगायतले बालबालिकाको प्रतिभा विकासमा कला तथा सिर्जनात्मक गतिविधिको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको थियो । आयोजक संस्थाका अनुसार धनुषाको जनकनन्दिनी गाउँपालिका र विदेह नगरपालिकाका किशोरकिशोरीको प्रतिभा प्रस्फुटन तथा उहाँहरूका भावना कलामार्फत अभिव्यक्त गराउने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको हो । प्रस्तुत कलाकृतिले नीति निर्माण तहसम्म बालबालिकाका विचार र सरोकार पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































