भद्रपुर (झापा), जुम्लाको सिञ्जा गाउँपालिका-२ स्थायी बासिन्दा तीर्थबहादुर तिरुवाले पूर्वी तराईका जिल्लामा कर्णालीका पहिचान बोकेका उत्पादन पुर्याउँदै आउनुभएको छ ।झोलाभित्र सिलाजित, केसर, यार्सागुम्बा, हिमाली तेल, मार्सी चामललगायत जुम्लासहित कर्णालीका पहिचान बोकेर उहाँ झापाको काँकडभिट्टाबाट सुनसरीको इटहरीसम्मका बजार, गाउँबस्ती, कुनाकन्दरामा पुग्नुहुन्छ । तीर्थका लागि यो झोला केवल सामान बोक्ने साधन होइन, यो उहाँको जीविकोपार्जन, आत्मसम्मान र सपना बोकेको संसार हो ।
तीर्थ आजभोली झापाको बिर्तामोडमा डेरा गरी सात जना साथीसँग बस्दै आउनुभएको छ । सबैजना जुम्लाकै उत्पादन बोकेर व्यापार गर्ने साथीहरू हुन् । कसैले राडी,पाखी बेच्छन्, कसैले अल्लोका कपडा, कसैले हातले बुनेका गलैँचा, कसैले खाकी (दाउरा, सुरुवाल), तीर्थको झोलामा भने जडीबुटीको सुवास मिसिएको हुन्छ ।
“यो व्यापार थालेको करिब १२ वर्ष भयो”, उहाँले भन्नुभयो, “तर पूर्वी तराईमा आएर गर्न थालेको सात वर्ष पुग्यो ।”, पहिलेपहिले उहाँ बागलुङ, बेनी, पाल्पा, बुटवललगायत पहाडी र मध्य तराईका क्षेत्र घुम्नुभयो । एकपटक साथीहरूको सल्लाहमा पूर्वी नेपाल आएको बताउँदै उहाँले भन्नुभयो, “यहाँ बजार राम्रो रहेछ, मानिसहरू नयाँ कुरा चाख्न चाहन्छन् । सात वर्षयतादेखि व्यापारका लागि अन्यत्र जानु परेको छैन ।”
तीर्थको जीवन मौसमीयामसँगै घुम्छ । गर्मी याम (साउन र भदौ) उहाँका लागि व्यापारको सुनौलो समय हो । यही बेला ताजा यार्सागुम्बा बिक्रीमा आउँछन् । “यार्सा ताजा नै खोज्छन् मानिसहरू”, उहाँले भन्नुभयो, “त्यसैले उक्त समयमा बिक्री राम्रो हुन्छ ।”
जाडो याम (मङ्सिरदेखि चैत) मा तीर्थको पूर्वी तराईमा समय बित्छ । चैतमा मात्रै सबै सामान सकेर घर फर्किने उहाँको नियमजस्तै बनेको छ । “कहिले व्यापार राम्रो हुन्छ, कहिले दिनभर हिँड्दा पनि हात खाली हुन्छ । व्यापार भएको दिन दुःख बिर्सिदोरहेछ”, उहाँले भन्नुभयो, “आज बिक्री भएन भने भोलि हुन्छ भन्ने भरोसा आफूमा हुनुपर्छ ।”
जुम्लाबाट ल्याइने जडीबुटी र अन्य सामान बेचेर तीर्थले वार्षिक दुवै याममा सबै खर्च कटाएर करिब रु आठ लाखसम्म आम्दानी हुने जानकारी दिनुभयो । “यो रकम सानो होइन, विशेषगरी आफ्नै देशमा, आफ्नै पसिनाले कमाएको हो । विदेश जानुभन्दा आफ्नै देशमा व्यापार गर्दा स्वतन्त्रता महसुस हुन्छ”, उहाँले अनुभव सुनाउनुभयो, “कोही मालिक छैन, कोही गाली गर्ने छैन ।”
यो काममा सहजता भने नभएको तीर्थको बुझाइ छ । गाउँका धेरै युवाजस्तै तीर्थ पनि कुनै समय भारत जान बाध्य हुनुभयो । उत्तर प्रदेश, हरियाणा, पञ्जाब, हिमाञ्चल आसपासका क्षेत्र उहाँका लागि सङ्घर्षका मैदान बनेका थिए । “भाषा बुझ्दैनथेँ, भारतीयहरूले हेप्थे”, उहाँले विगत सम्झँदै भन्नुभयो, “सामान चोरी हुने डर, खान–बस्न समस्या, धेरै अपमान सहनुप¥यो ।”
विसं २०७० देखि सुरुका चार वर्षको हिउँद उहाँले भारतमा बिताउनुभयो । त्यहाँ गरेको सङ्घर्षले उहाँलाई आत्मनिर्भर बन्ने आँट दियो । “त्यहाँको दुःखले मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सिकायो”, तीर्थले भन्नुभयो । पूर्वी तराईमा अहिले तीर्थका नियमित ग्राहक पनि छन् । कोही मार्सी चामल खोज्दै आउँछन्, कोही सिलाजित । अझै पनि धेरै ग्राहक हिँड्दाहिँड्दै भेटिने उहाँले बताउनुभयो । “नयाँ मानिससँग कुरा गर्न रमाइलो लाग्छ”, उहाँले भन्नुहुन्छ, “कर्णालीका बारेमा सुनाउँदा उहाँहरूले चासोका साथ सुन्न्नुहुन्छ र सामान किनिदिएर सहयोग पनि गर्नुहुन्छ ।”
यो व्यापारबाट तीर्थ एकदमै सन्तुष्ट हुनुहुन्छ । उहाँका लागि यो केवल पैसा कमाउने माध्यम होइन, जुम्लाको पहिचान बोकेर देशका कुनाकाप्चामा पुग्ने अवसर पनि हो । आज भद्रपुरको गल्लीमा तीर्थ झोला बोकेर अघि बढ्दै हुनुहुन्छ । भोलि उहाँ उर्लाबारीतिर लाग्नुहोला, पर्सि फेरि कुनै नयाँ बस्तीमा । तर जहाँजहाँ तीर्थ पुग्नुहुन्छ त्यहाँ जुम्लाको माटोको गन्ध, कर्णालीको पसिना र आत्मनिर्भरताको सन्देश पनि सँगै पुग्नेछ ।













































































































































