कैलाली – कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयले भोलि, माघ १९ गते (सोमबार) आफ्नो ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा आयोजना गर्न लागेको छ।
विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम जस्तै नृत्य, नाटक, साथै विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी लगायतका शैक्षिक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। यस अवसरले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा, सृजनशीलता र विद्यालयको शैक्षिक गतिविधिलाई उजागर गर्ने लक्ष्य राखिएको छ।
विद्यालय प्रशासनले अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र समाजका सबै वर्गलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

















































































































































