महेन्द्रनगर (धनुषा), मधेस–प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेस–प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
जनकपुरधामस्थित मधेस–प्रदेशसभामा आज आयोजित प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा कर्णले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, सुशासन प्रवद्र्धन तथा जनअपेक्षाअनुसार कानुन निर्माणमा प्रदेशसभाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले परिकल्पना गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तर उकास्न प्रदेशसभा प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नुभयो ।
सोही अवसरमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामार्फत बनेका कानुनहरूले मधेस–प्रदेशको समग्र विकास, सामाजिक न्याय र समावेशिताको आधार तयार गरेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेशसभासँग समन्वय र सहकार्य गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले राजनीतिक स्थायित्व, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सभामुख रामअशिष यादव, उपसभामुख बबिता राउत इसर, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, उच्च अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । वार्षिकोत्सवका अवसरमा विविध औपचारिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































