झापा, पहिलोपटक अन्तरराष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । आसामले जीएचसिए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो ।
पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अङ्क जोडेको थियो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठवटा टिमको सहभागिता छ । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अङ्कका आधारमा सेमिफाइनल खेल्ने टिमको टुङ्गो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिए । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले रु पाँच लाख नगदसहित शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु तीन लाखसहित शिल्ड प्राप्त गर्ने छ । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमको सहभागिता रहेको क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । बिहीबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा भारतको दिल्लीले आजको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबले जीएचसीए काठमाडौँको सामना गर्नेछ । राष्ट्रिय समाचार समिति (रासस)


























































































































































