काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनको मर्मअनुसार कांग्रेस बदलिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गरे ।
‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्याउनुपर्नेछ,’ उनले भने । हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातलाई घर घरमा गएर संवाद गर्नुपर्ने र जेनजीका कुरा सुन्नुपर्ने उल्लेख गरे ।
सभापति थापाले जेन्जीको पूरा कुरा सुनेर सडकमा तिमीले गरेको आवाजका आधारमा बदलिएको एक मात्र पार्टी कांग्रेस भएको बताउन आग्रह गरे ।
‘माघको अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानुपर्छ,’ उनले भने ।
सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुरा फेस गर्नुपर्ने बताउँदै रिसाएकाहरूको मागअनुसार अधिवेशन भएको र नयाँ नेतृत्व आएको स्पष्ट पारे । “यसमा कसैले हारेको छैन, सबैले जितेका छौं, अब पक्ष विपक्षको च्याप्टर क्लोज भयो, हामी सबै एक ठाउँमा छौं,” सभापति थापाले भने।
उनले देशका सबै पक्षलाई मिलाएर लैजाने शक्ति कांग्रेस भएको बताए । देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने दाबी गर्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।
प्रदीप पौडेल जिम्मेवार विद्रोही
सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई जिम्मेवार विद्रोहीको संज्ञा दिएका छन् । कार्यक्रममा उनले भाद्र २३ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग युवा आवाज सुन्नुपर्ने भनेर क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल भएको उल्लेख गरे । भाद्र २३ गते म निरन्तर सम्वादमा थिएँ, उनले भने, त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो ।
उनले मन्त्रीका रुपमा सरकारमा बस्दै गर्दा आफूले शुरु गरेको स्वास्थ्य बीमामा परेका अप्ठेरा हटाउन खोज्दा सहयोग नपाएर छटपटिएको देखेको बताए ।
उनले सरकारमा रहँदा गरेका इमान्दार प्रयाससँगै कांग्रेस नयाँ बनाउने कुरामा पनि आफूसँगै रहेर महामन्त्री पौडेलले ठूलो भूमिका निर्वाह गरेको स्मरण गरे ।
समुन्नत नेपाल निर्माणका लागि संसद र सरकारमा प्रदिप पौडेलको आवश्यकता रहेकोमा समेत सभापति थापाले जोड दिएका थिए।



















































































































































