धनगढी: नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मतदाता भेटघाट कार्यक्रमका क्रममा ढुंगानाले सुदूरपश्चिम प्रदेशका प्रायः सबै जिल्लामा विमानस्थल निर्माण भइसकेको सन्दर्भ उल्लेख गर्दै अब धनगढी विमानस्थललाई प्रदेशकै केन्द्रिय र क्षेत्रीय हवाई हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रदेशको प्रवेशद्वारका रूपमा रहेको धनगढी विमानस्थलको स्तरोन्नति बिना सुदूरपश्चिमको समग्र विकास सम्भव नहुने बताए।
ढुंगानाका अनुसार हाल धनगढी विमानस्थलमा आवश्यक पूर्वाधार, उपकरण तथा यात्रु सुविधाको अभाव छ। “विमानस्थलमा अझै आधुनिक उपकरण, धावनमार्ग विस्तार, यात्रु प्रतीक्षालय, सुरक्षा तथा प्रविधिमैत्री सेवा पर्याप्त छैन,” उनले भने, “यी सबै पक्षमा सुधार गरी धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न जरुरी छ।”
उनले आफू निर्वाचित भए धनगढी विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग निरन्तर दबाब सिर्जना गर्ने र आवश्यक पहल अघि बढाउने स्पष्ट पारे।
विमानस्थल स्तरोन्नतिले सुदूरपश्चिमका नागरिकलाई सहज, सुरक्षित र भरपर्दो हवाई सेवा उपलब्ध हुने मात्र नभई पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ।
ढुंगानाले धनगढी विमानस्थल क्षेत्रीय विमानस्थलका रूपमा विकास भएमा प्रदेशको आर्थिक गतिविधि बढ्ने, रोजगारीका अवसर सिर्जना हुने र सुदूरपश्चिमको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुने विश्वास व्यक्त गरे।























































































































































