कैलाली । बर्दगोरिया डान्स च्याम्पियनसिप सिजन–१ को मेघा राउन्ड आजदेखि सुरु भएको छ। बफादार मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मेघा राउन्डमा अडिसन चरण पार गरेका ७५ जना विद्यार्थी सहभागी भएका छन्।
यसअघि बर्दगोरिया गाउँपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा अडिसन सञ्चालन गरिएको थियो। अडिसनबाट छनोट भएका प्रतिभाशाली विद्यार्थीहरूले मेघा राउन्डमा आफ्नो नृत्य कला प्रस्तुत गरिरहेका छन्।
प्रतियोगिताको विजेतालाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनुका साथै एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत दिइने आयोजकले जनाएको छ। स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बफादार मिडियाले जनाएको छ।
मेघा राउन्डको उद्घाटन बर्दगोरिया गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले यस्ता सिर्जनात्मक कार्यक्रमले बालबालिका तथा युवामा लुकेको प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए।
बफादार मिडियाका अध्यक्ष तपेन्द्र ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बिक लगायत स्थानीय जनप्रतिनिधि, अभिभावक तथा दर्शकहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको आगामी चरणहरू थप रोमाञ्चक हुने आयोजकको अपेक्षा छ।













































































































































