काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिनुभएको छ । निर्वाचन आयोगसँगको सहकार्यमा राससद्वारा आज यहाँ आयोजित पत्रकार महिलाका लागि ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’कार्यक्रममा उहाँले व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।
स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न सञ्चारजगत्को भूमिका महत्वपुर्ण हुने चर्चा गर्दै सचिव बस्नेतले प्रेसका माध्यमबाट प्राप्त सूचनाकाआधारमा मतदाताले धारणा बनाउने भएकाले वास्तविक समाचार सम्प्रेषणमा जोड दिनुभयो ।
“मतदाता निर्धक भएर मतदान केन्द्रमा पुग्ने र सहितरिकाले मतदान गर्न सहयोग पुर्याउने हिसाबले समाचार सम्प्रेषण गरौँ ”, सचिव बस्नेतले भन्नुभयो ।राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनलाई सहयोग पुग्नेगरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । प्रभावकारी सन्देश प्रवाहमा उहाँको जोड थियो ।
सन्देश कसका लागि र किन तयार गर्ने भन्नेमा स्पष्ट नहुँदा त्यसको प्रभावकारिता कमजोर हुने उहाँको कथन थियो । “हामीमा के सन्देश प्रवाह गर्दैछौँ भन्ने स्पष्टताको अभाव देखिन्छ”, अध्यक्ष झाले भन्नुभयो, “जब सन्देशको उद्देश्य, लक्षित समूह र आधारभूत तथ्य स्पष्ट हुँदैन, त्यहाँ मित्थ्याले स्थान पाउँछ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालना गर्नु हरेक पत्रकारको दायित्व हो भन्नुभयो ।राससका महाप्रबन्धक सन्दीप राईले निर्वाचनका बेला सूचना र समाचारको चाप बढ्ने भएकाले पत्रकारले गम्भीर भएर निष्पक्ष सामग्री प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।समाचार महाशाखाका उपप्रमुख एकराज पाठकले विश्वमा द्रत रूपमा विकास भइरहेको सूचना प्रविधिले ल्याएका चुनौतीलाई सामना गर्दै समाचारलाई विश्वासनीय तुल्याउनेतर्फ समाचारदाता चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राससका महिला पत्रकार, नेपाल पत्रकार महासङ्घ, काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका महासङ्घका प्रतिनिधि, प्रेस काउन्सिल, सञ्चारिका समूह, वर्किङ विमेन जर्नलिष्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र दैनिकका पत्रकार महिला सहभागी छन् ।राष्ट्रिय समाचार समिति(रासस)
–––सृजना राई






















































































































































