त्रिवेणी (रुकुमपश्चिम), बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४० स्थायी तथा दुई अस्थायी मतदान केन्द्रमा बिहान ७ः०० बजेबाट निर्वाचन सुरु भएको र साँझ ५ बजे सम्पन्न भएको छ ।
जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कुल एक लाख छ हजार ६६० मतदाता रहेका जिल्लामा ६२ हजार ९६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् । मतदान सम्पन्न भएसँगै मतपेटिका सङ्कलनको काम सुरु भइसकेको छ ।
जिल्ला कारागार र खलङ्गाको बराहटाकुरामा रहेको अस्थायी मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा ल्याइसकिएको सहायक निर्वाचन अधिकृत शाहीको भनाइ छ । अन्य ठाउँबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर मतपेटिका सङ्कलनको काम भइरहेको शाहीले बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)


















































































































































