हेटौँडा (मकवानपुर), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदातामध्ये एक लाख ८६ हजार ५५१ जनाले मतदान गरेका छन् । यो सङ्ख्या अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा आठ हजार २६९ मत बढी हो । कार्यालयका अनुसार मतदान गर्नेमा पुरुष ९६ हजार ६३४, महिला ८९ हजार ९१२ र तेस्रो लिङ्गी पाँच जना रहेका छन् । बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेका मकवानपुरमा क्षेत्र नं १ मा ९५ हजार ३१० मत खसेको छ भने क्षेत्र नं २ मा ९१ हजार २४१ मत खसेको छ । निर्वाचनमा तीन हजार ३६६ कर्मचारी खटाइएको थियो । मकवानपुरमा यस निर्वाचनका लागि १६७ मतदानस्थल कायम गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार हाल जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको छ । उहाँका अनुसार राति अबेरसम्म सबै केन्द्रबाट मतपेटिका सङ्कलन भइसकेको छ । केही दुर्गम क्षेत्रमा सडक पहुँचको समस्या रहेका कारण मतपेटिका सङ्कलनमा केही समय लागेको थियो । मकवानपुरका आठ मतदान केन्द्रमा सिधै सडक पहुँच नपुगेका कारण निर्वाचन सामग्री ढुवानी तथा मतदानपछि मतपेटिका सङ्कलनका लागि छिमेकी जिल्लाको सडकमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
आज बिहान ७ः०० बजे सर्वदलीय बैठक आह्वान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त बैठक सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने छ । दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विद्यालयका दुईवटा ब्लकमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय समाचार समिति (रासस)
















































































































































