वीरगञ्ज (पर्सा), पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको घोषणा गर्नुभयो । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्नुभएको छ ।
एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गर्नुभयो । त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगटाले ११ हजार ८८५ मत ल्याउनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेशप्रसाद यादवले एक हजार २०१ मत प्राप्त गर्नुभएको छ । विजयी भएका उम्मेदवार पन्तले नेपाली जनताले परिवर्तन चाहिरहेकाले पनि यो जित सम्भव भएको बताउनुभयो ।
पर्साको क्षेत्र नम्बर १ मा कूल ८९ हजार ६३८ मतदातामध्ये ६१ हजार २४७ जना अर्थात् ६८ दशमलव ३२ प्रतिशत मत खसेको थियो । यहाँ दलीय र स्वतन्त्रतर्फ गरेर ३० जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । यहाँ समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।राष्ट्रिय समाचार समिति (रासस)













































































































































