काठमाडौँ, प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी हुनुभएको छ भने कांग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई स्थानमा विजयी हुँदा आठ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक स्थानमा विजयी आठ स्थानमा अगाडि छ ।श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ ।
समानुपातिकको पनि गणना जारी
समानुपातिकतर्फ हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७, कांग्रेसले १९ हजार ३५८, एमालेले ११ हजार ४५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ६५५ मत प्राप्त गरेका छन् । साथै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले दुई हजार ५४०, श्रम संस्कृति पार्टीले दुई हजार २२७, नेपाल मजदूर किसान पार्टीले ८६९ मत प्राप्त गरेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)















































































































































