दमौली (तनहुँ), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय तनहुँले सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो । क्षेत्र नम्बर १ अन्तर्गत एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो । त्यसमध्ये ६५ हजार ४१९ मत सदर भएको छ ।
क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ । राष्ट्रिय समाचार समिति (रासस)


















































































































































