गण्डकी, सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १५ र १६ गते बागलुङमा हुने भएको छ । प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाबाट गरी झन्डै एक हजार १०० खेलाडी सहभागी हुने परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो । डेढ सयको सङ्ख्यामा अफिसियल सहभागी हुने उहाँको भनाइ छ ।
“सुरक्षा प्रबन्धदेखि अन्य तयारीका काम भइरहेको छ, जिल्ला खेलकुद विकास समिति बागलुङले स्थानीय रूपमा व्यवस्थापन र समन्वयको काम गरिरहेको छ”, सदस्यसचिव शर्माले भन्नुभयो । प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, भलिबल र कबड्डी गरी छवटा विधामा महिला र पुरुषतर्फका खेल सञ्चालन हुनेछन् ।
पालिका हुँदै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समितिका सचिव किशोर थापाले बताउनुभयो । एउटा जिल्लाबाट एक सयको हाराहारीमा खेलाडी सहभागी हुने उहाँको भनाइ । स्थानीय बाङ्गेचौर खेलमैदान र काठेखोलाको बिहुँमा रहेको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडी केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।
पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रूपमा जिल्लामा गर्ने गरिएको सदस्यसचिव शर्माले बताउनुभयो । प्रतियोगिता सञ्चालनदेखि खेलका बजेट तथा कार्यक्रमलाई विकेन्द्रित गर्दै लगिएको उहाँको भनाइ छ । पन्धौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोरखा र १४औँ प्रतियोगिता नवलपुरमा आयोजना भएको थियो । सत्रौँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला १६र्औँ प्रतियोगिताको समापन समारोहमा घोषणा गरिने परिषद्ले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































