काठमाडौँ, विश्व वातावरण दिवस–२०८३ का अवसरमा विष्णुमती लखतीर्थ मार्ग करिडोरमा विरूवा रोपिएको छ ।काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा विभिन्न जातका करिब १०० बिरुवा रोपिएको थियो । कार्यक्रममा वडा नं १२ का अध्यक्ष एवं महानगरपालिका वातावरण समिति संयोजक बालकृष्ण महर्जन, वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र वडा नं १९ का अध्यक्ष राजेश श्रेष्ठले विष्णुमती लखतीर्थ मार्ग करिडोरमा बिरुवा रोपी पानी हालेर संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।
वातावरण दिवसमा मात्र नभएर अन्य जुनै दिनमा पनि स्थानीयको मागबमोजिम वृक्षरोपण गरिने वातावरण समिति संयोजक महर्जनले बताउनुभयो । वातावरण संरक्षणमा स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहने हुँदा स्थानीयवासीलाई विरूवा संरक्षणका लागि उहाँले आह्वान गर्नुभयो ।वृक्षरोपण कार्यक्रममा महानगरपालिकाका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजना प्रमुख धनबहादुर बस्नेत, विभिन्न स्थानीय क्लबका अध्यक्ष तथा प्रतिनिधि र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































