कमलामाई (सिन्धुली), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो ।शनिबार सम्पन्न निर्वाचनअनुसार सभापतिमा बस्नेतले एक सय ८१ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी वृखबहादुर बम्जन (अशोक)ले ८८ मत र अर्का प्रतिस्पर्धी कर्णबहादुर कार्कीले चार मत प्राप्त गर्नुभयो ।
उपसभापतिमा रामचन्द्र अधिकारी एक सय तीन मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी सागर खत्रीले ९२ र दिलीपजंग थापाले ६६ मत प्राप्त गर्नु भयो ।सचिवमा लालप्रसाद देवकोटा (एलपी) एक सय ८६ मतसहित विजयी हुँदा प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गर्नुभएको थियो । सह–सचिवमा दिनेशप्रसाद सापकोटा (मोटु) एक सय ३० मतसहित निर्वाचित हुनुभयो भने निकटतम प्रतिस्पर्धी रमेश खत्रीले एक सय १६ मत प्राप्त गर्नुभयो ।
खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित हुनुभएको छ । महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित हुनुभयो । सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गर्नुभएका बम्जन (अशोक) विधानअनुसार जिल्ला समिति सदस्य बन्नु भएको छ । अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।यसैगरी, क्षेत्र नं १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं २ को संयोजकमा कैलाश थापा निर्वाचित हुनुभएको छ । अधिवेशनमा कुल दुई सय ७४ प्रतिनिधि रहेका थिए । राष्ट्रिय समाचार समिति(रासस)

























































































































































