दैलेख, जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कूल रु छ अर्ब २८ लाखभन्दा बढी वजेट शिक्षा, स्वास्थ्य, प्रविधि र सिँचाइ व्यवस्थाका लागि सार्वजनिक गरेका छन् ।एघार स्थानीय तह रहेको दैलेखमा आठबिस नगरपालिकाले आव २०८३÷०८४ का लागि भने बजेट पेस गर्न सकेन अन्य पालिकाले आ–आफ्नो बजेट नगर तथा गाउँसभामा प्रस्तुत गरेका छन् ।
बजेटमा पालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी ‘डिजिटल नवप्रवर्तन’ र पूर्वाधार कार्यक्रमलाई प्राथमिकतामा समाबेश गरेका छन् । बजेट पेस गर्नेमा नारायण नगरपालिका महावु गाउँपालिका, दुल्लु नगरपालिका, नौमुले र भगवतीमाई गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र डुङ्गेश्वर, भैरवी, ठाटीकाँध र गुराँस गाँउपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रविधि स्वास्थ्य तथा सिँचाइ क्षेत्रलाई बजेटमा समावेश गरेका हुन् ।
सबैभन्दा बढी दुल्लु नगरपालिकाले रु एक अर्ब पाँच करोड ७० लाख ४९ हजार, गुराँस गाउँपालिकाले रु ७० करोड ३२ लाख ३३ हजार, नारायण नगरपालिकाले रु ६४ करोड १८ लाख ६२ हजार, महावु गाउँपालिकाले रु ६१ करोड २० लाख ९३ हजार र नौमूले गाउँपालिकाले रु ५६ करोड १८ लाख ९८ हजारको वार्षिक बजेट सार्वजनिक गरेका सम्बन्धित नगर तथा गाँउपालिकाले जनाएका छन् ।
त्यसैगरी, भगवतीमाई गाउँपालिकाले रु ५१ करोड ३१ लाख ८६ हजार, चामुण्डाबिन्द्रासैनी नगरपालिकाले रु ५० करोड ७५ लाख ७ हजार, भैरवी गाउँपालिकाले रु ४७ करोड २९ लाख ९० हजार, ठाटीकाँध गाउँपालिकाले रु ४७ करोड २३ लाख २९ हजार र डुङ्गेश्वर गाउँपालिकाले रु ४६ करोड छ लाख ८७ हजार बराबरको वजेट प्रस्तुत गरेका हुन् ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































