सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ । मकालु गाउँपालिका- ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको हो ।
माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अरुण नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो ।जिल्ला प्रहरी कार्यालयले सतर्क रहन आग्रह गर्दै भनेको छ- ‘आज बिहान ०६:०० बजे फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको छ। डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेको छ। नदी आसपासका बासिन्दाहरूले थप सतर्कता अपनाउनु हुन अनुरोध छ।’
२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ । अरुण नदीलाई बहाव परिवर्तन गरी ४२९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो ।























































































































































