मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज पनि मुम्बईको मराठा मन्दिर थिएटरमा दैनिक प्रदर्शन भइरहेको छ । त्यहाँ हरेक बिहान ११ः३० बजे दर्शकहरूको उत्साह कहिल्यै घटेको छैन । ६० वर्षीय मोहम्मद शाकिरले मुस्कुराउँदै भन्नुभयो, “मैले यो चलचित्र झन्डै ३० पटक हेरेको छु… अझै पनि हेर्छु ।” केवल ४० रुपैयाँ (करिब ०.४५ अमेरिकी डलर) तिरेर टिकट किन्न आउने उहाँ जस्ता दर्शकहरूले नै यो फिल्मलाई जीवित राखेका छन् ।
शाहरुख खान र काजोल अभिनीत यस चलचित्रले शाहरुखलाई सुपरस्टारको उच्चतामा पुर्यायो र आधुनिक हिन्दी रोमान्सको परिभाषा नै परिवर्तन गर्यो । सिनेमाघरका प्रमुख मनोज देसाई भन्नुहुन्छ, “हप्तादिनमा प्रायः कलेजका विद्यार्थी र युवा दम्पतीहरू आउँछन्, तर आइतबार त ३० वर्षपछि पनि करिब ५०० दर्शक उपस्थित हुन्छन् ।” मराठा मन्दिरमा निरन्तर प्रदर्शन हुँदै आएको यो फिल्म एक हजार ५०० हप्ताभन्दा बढी समयदेखि चलिरहेको छ । यसले एक समयको सुपरहिट एक्सन–थ्रिलर ‘शोले’ को कीर्तिमानलाई समेत पछि पारिसकेको छ । फिल्मले विदेशमा रहेका दोस्रो पुस्ताका भारतीयहरूको उदार मूल्य र उनीहरूका आमाबाबुको परम्परागत सोचबीचको द्वन्द्वलाई प्रभावशाली रूपमा चित्रण गर्छ । यसको प्रसिद्ध दृश्य—जहाँ नायिका आफ्नो प्रेमीको हात समात्न रेलको छेउमा दौडिन्छिन्—आज पनि दर्शकहरूलाई ‘गुजबम्प्स’ (आङ सिरिङ्ग बनाउने) दिने क्षण बनेको छ । देसाईका शब्दमा, “त्यो दृश्य बुबाले आफ्नी छोरीलाई आफ्नो निर्णय गर्ने स्वतन्त्रता दिएको क्षण हो र त्यही भावनाले हरेकको हृदय छोएको छ ।” केही दर्शकका लागि डिडिएलजे जीवनकै हिस्सा बनिसकेको छ । “एक महिला त २० वर्षदेखि हरेक हप्ता आउँछिन्”, देसाईले हाँस्दै भन्नुभयो, “हामी उनलाई कुनै विशेष सुविधा दिँदैनौँ—उनी टिकटको मूल्य तिर्छिन् ।
यस्तो समर्पित संरक्षक कहाँ भेटिन्छ ?” नयाँ पुस्ता पनि यस फिल्मप्रति समान आकर्षित छ । “आजको पुस्तामा सम्बन्ध प्रायः लेनदेनमा सीमित छन्, तर यस फिल्ममा नायकले बिना कुनै अपेक्षा प्रेमका लागि सबै सीमाहरू पार गर्छ”, फिल्म रिलिज हुँदा नजन्मिएका २३ वर्षीय ओमकार सराफ भन्नुहुन्छ, “टेलिभिजन वा मोबाइलमा भन्दा ठूलो पर्दामा हेर्दा यो फिल्म अझै गुदगुदी दिन्छ ।” फिल्मले केहीका वास्तविक प्रेमकथामा पनि छाप छोडेको छ । “एक दम्पतीले डेटिङका क्रममा यो चलचित्र हेरेका थिए र पछि आफ्नो विवाहमा मलाई निम्त्याए”, देसाईले भन्नुभयो, “उनीहरू हनिमुनका लागि विदेश गएका थिए—र फर्केर फेरि यही फिल्म हेरे ।” सन् २०१५ मा मराठा मन्दिरमा यसको प्रदर्शन बन्द गर्न खोजिएको थियो तर दर्शकहरूको विरोध र भावनात्मक आग्रहपछि त्यो योजना रोकिएको थियो । थिएटर आज पनि पुरानै आकर्षणसहित विद्यमान छ—भापमा पाकेको चिया, तात्तातो समोसा र पुरानो शैलीका टिकट काउन्टरले दर्शकलाई पुरानो मुम्बईको स्वाद दिलाउँछ । बम्बई सेन्ट्रल स्टेशन नजिकैको यसको स्थानका कारण यात्रुहरूले पनि प्रस्थान अघि फिल्म हेर्ने परम्परा कायम राखेका छन् ।
स्पेनकी पर्यटक केली फर्नान्डिजले भन्नुभयो, “भाषा बुझेनौँ, तर सङ्गीत, नृत्य र वेशभूषाले मन छुन पुग्यो । यो रोमियो एन्ड जुलियट जस्तै हो, तर सुखद अन्त्यसहित ।” फिल्म समीक्षक भारद्वाज रङ्गनका अनुसार डिडिएलजे भारतको सांस्कृतिक यात्राको प्रतीक हो—जहाँ नयाँ र पुराना मूल्यहरूबीचको द्वन्द्वलाई यसले कुशलतापूर्वक समेटेको छ । “यो चलचित्र केवल मनोरञ्जन होइन, भारतको सांस्कृतिक स्मारक बनेको छ”, उहाँले भन्नुभयो, “मलाई विश्वास छ—यो फिल्म सायद सदाका लागि पर्दामा चलिरहनेछ ।” तीस वर्षपछि पनि डिडिएलजे केवल एउटा चलचित्र होइन—प्रेम, स्मृति र भारतीय पहिचानको जीउँदो प्रतीक बनेको छ, जसले बलिउडको रोमान्सलाई अझ बलियो बनाउँदै लगेको छ ।