काठमाडौं ।नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नु पर्दा दुःख लागेको बताएका छन् । उनले एक अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारलाई सजग गराएका छन् ।
सभापति देउवाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको युद्ध सिङ्गो संसारले स्वास्थ्यकर्मीको नेतृत्वमा लडिरहेको र आफू तथा आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भएको उल्लेख गरेका छन् । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न उनले सबैलाई आग्रह गरे ।
‘फ्रन्ट लाइन’ मा रहेर कार्य गरिरहेकाको उच्च सम्मान
सभापति देउवाले आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी एवम् गाउँ–शहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीलाई हृदयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सर्हना गरेका छन् ।
मुलुकका कयौं भागमा बन्दाबन्दी र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको र कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयमा उनले सबैलाई संयम र एकता साथ परिस्थिति सामना गर्न अपील गरेका छन्।
प्रतिकूल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेकोप्रति सभापति देउवाले प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुयाउन सरकारलाई आग्रह गरेका छन् ।