Baigyanik Media

Advertisment

SKIP THIS

आज हरितालिका तिज: संस्कृती र तडकभडक

कैलाली/हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज हाम्रो नजिकिदै छ । तिज नजिकिएसंगै सबै नारीहरु खुसीले फुरुंग देखिन्छन । आफ्नो नजिकैका छिमेकी दिदिबहिनीहरुसंग माइत जाने सल्लाह गर्ने गर्दैछन । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

 

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै स्थानमा पनि मनाइन्छ । भनिन्छ, भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म विवाहित हिन्दु नारीहरूले पनि आफ्नो श्रीमानको दिर्घायुको कामना सहित व्रत बस्ने गर्दछन भने अविवाहित चेलीहरुले राम्रो श्रीमान पाउँ भनी व्रत बसी यो पर्व मनाउदै आएका छन् ।

 

तिजमा विवाहित नारीहरु माइत जाने गर्दछन् भने काम विशेषले या भनौं अध्ययन अथवा जागीरको शिलशिलामा घरदेखि टाढा रहेका नारीहरु सकेसम्म आ आफ्नो घरमा जाने गर्दछन । तिजमा भएसम्म नयाँ नयाँ कपडा, गरगहना लगाएर श्रृंगारपटार गरेर सुन्दर हुने चलन परम्परादेखि चलि आएको छ । तिजको अघिल्लो दिनमा सबै चेलिबेटि आफ्नो माइतीमा जम्मा भई अबेर रातिसम्म दर खाने र नाचगान गर्ने चलन पनि रहिआएको छ ।

तिजको दरमा विशेष गरेर घ्यु राखेर पकाएको भात, कांक्राको अचार, गाभा, तामा, चिचिन्नोको तरकारी, आलुको अचार लगायतका परिकारहरु बनाएर खाने गरिन्छ र भोली पल्ट तिजको दिनभर ब्रत बस्ने र साँझ भगवान शिवजीको पुजाआज गरी दहिकेरा खाने चलन छ । तर पछिल्लो समय तिज पर्वमा पनि केहि बिकृतीहरु भित्रिएका छन । तिजको दर खाने नाममा एक महिना अघिदेखि महिलाहरु महंगा होटल, पार्टि प्यालेसहरुमा जम्मा भई पुलाउ मासु, रक्सी लगायतका परिकारहरु खाने, महंगा महंगा कपडा , गहना लगाउने चलन पनि भित्रिएको छ ।

या भनौं तिजलाई कतिपय दिदिबहिनिहरुले आफुसंग भएका गरगहना देखाउने पर्वका रुपमा पनि लिने गरेको जस्तो देखिन्छ । जस्ले गर्दा मध्यम र न्युन आय भएकाहरुका लागी यो तिज निल्नु न ओकेल्नु भएको छ । जस्ले गर्दा कतिपय दिदिबहिनीहरुका लागी पहिले पहिले तिज कहिले आउला र माइत गएर रमाइलो गरौंला, आफ्ना मनका बेदना गित मार्फत पोखौंला भन्ने हुन्थ्यो तर अहिले आएर यो पर्व नआए पनि हुन्थ्यो भन्ने जस्तो पनि भएको छ ।

आफ्ना वरीपरीका उच्च आय भएका दिदिबहिनीहरुको सिको गर्न खोज्दा कतिपय परिवारहरुमा विखण्डन आएको छ । आफुसंग नहुँदा नहँदै पनि देखासिकि गरी क्रृण काढेर महँगा कपडा र गहना किनेर लगाउँदा धेरै जसो परिवारमा जिवनभर तिर्न नसकिने गरी क्रृणको भारी बोक्नुपर्ने बाध्यता छ । समाजका ऐनाका रुपमा रहेका केहि व्यक्तित्वहरुबाट नै यस्तो प्रकारको बिकृती भएको देख्दा समाज परिवर्तन हुने सपना सपनामा नै सिमित हुने हो की प्रश्न उठेको छ ।

एक दिनमा मात्रै सबैकहाँ गएर रमाइलो गर्न भ्याइदैन त्यसैले साथीभाई , दिदिबहिनीहरु समय मिलाएर बिदाको दिनमा जम्मा भएर सौहार्दपुर्ण वातावरणमा दर खाने र रमाईलो गर्नु पनि राम्रै हो । कहिले कस्को कहिले कस्को घरमा जम्मा हुदा र रमाईलो गर्दा अझ बढि आत्मियता बढ्ने गर्दछ । तर यसको नाममा तडक भडक सहित होटल, पार्टि प्यालेसहरुमा दर खानु चाहिँ बिकृती नै हो । यसलाई परिवर्तन गर्ने जिम्मा हाम्रो हो । तिजमा विशेष गरेर गाउने र नाच्ने गरिन्छ । जसमा बिवाहित छोरीहरुले एक वर्षमा एक पटक माइत गएर आफुले घरमा सहनुपरेको पिर बेदनालाई गित मार्फत सुनाउने चलन थियो तर हिजो आजका तिज गितमा तिज गितको भन्दा पनि रत्यौली गितको गन्ध बढि आउने गरेको जनगुनासो बढ्न थालेको छ ।

हिजोआजको समय भनेको बजारमा पुरुषको तुलनामा महिलाको संख्या बढि हुने समय हो यो कुरालाई लिएर यीनी आईमाईहरुलाई एक महिना अगाडी देखि तिज लाग्या छ , यिनिहरुलाई केहि चलाउन सकिदैन भन्दै व्यंग्य गर्ने कतिपय पुरुष साथीहरुले साच्चिकै भन्ने हो भने तिज महिला भन्दा बढि पुरुषहरुलाई लागेको देख्नुहुन्छ की हुन्न ? तिज गितहरुमा महिला भन्दा धेरै आफुहरु नाच्ने गरेको थाहा पाउनु हुन्छ की हुन्न ? साथीभाईहरु जम्मा भएर दरको रुपमा अन्य परिकारहरु खाने गरेको स्विकार्नुहुन्छ कि हुन्न ? वास्तवमा समृद्ध समाज निर्माणका लागी महिला र पुरुषको बराबर सहभागीता हुन जरुरी छ ।

जब सम्म हामीले एकले अर्कालाई सम्मान गर्न सक्दैनौं तब सम्म समृद्ध समाज निर्माणको काम भाषणमा बढि व्यवहारमा कम हुन्छ । धार्मिक मान्यताका साथै नारीलाइ अगाडि बढाउन सहयोग गर्ने चाड तिजलाइ हामि सबैले सभ्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ । नारी भित्रका आवाजलाइ बाहिर निकाल्न शाहस दिलाउने यो चाडले नारिलाइ अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ । तसर्थ तिजबाट राम्रा कुराहरु टिपेर आफुले आफनो जिम्मेवारी नविर्सिकन अगाडि बढ्नुपर्छ ।

हामिले हाम्रो रितिथितिलाइ कायम राख्दैै , संस्कृतिमा धनि नेपालमा कुनै आँच आउन नदिऔ, तीजलाई उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना गर्नुहुदैन । हाम्रो सस्कृति बिकृत हुँदा समाजका धेरै पक्षहरु खलबलीन पुग्छन् । यसो लेखिरहँदा सस्कृतिमा सुधार आवश्यक छैन् भन्ने चाहि होइन । संस्कृति भित्रका नराम्रा कुरालाइ सुधार गर्दै लानु पर्दछ । जसले सुन्दर समाज र्निमार्ण गर्न सकियोस । उपबासका नाममा कतिपयले ज्यानै गुमाएको, अनेक दुखकष्ट पाएका देखेका छौ ।

शास्त्रले नै बालक, वृद्व, रोगी र अशक्तलाइ छुट दिएको हामी बुझदैनौ । हामी अध्ययन मनन भन्दा लहैलहैमा लाग्छौ । यो तिजले हामीलाइ यसतर्फ मनन गर्ने शक्ति देओस । तिज महिलाले आफना दुःख पिडा बिसाउँदै नाचगान गरि रमाइलो गर्ने पर्व हो । तिजको मर्यादा, परम्परा माथि आज अतिक्रमण भएको छ । सस्तो लोकप्रियता र व्यवसायीकताको नाममा तिज पर्वमा गाइने गीतमा विकृति छाएको छ । हाम्रोमा समय सन्र्दभ अनुसार गीत गाउने चलन छ ।

आजभोली रतौलि,मायाप्रेमका जस्ता गीतलाइ तिज गीतका रुपमा प्रस्तुत गरिएको छ । जसले गर्दा सदियौ देखि हाम्रा पुर्खाले हामीलाइ सुम्पीएको यो तिज पर्वलाइ यसको गरिमा, मयार्दा सहित आउदो पुस्तालाई हस्तान्तरण गर्न नसकिने होकि भन्ने चिन्ता व्याप्त छ । यसका लागि सम्बद पक्षहरु गम्भीर बनुन । क्षणिक लाभ हानी भन्दा पनि दिर्घकालीन रुपमा व्यक्ति, समाज र राष्ट्रलाई कशरी फाइदा हुन्छ । सस्कृतिमा समुन्नत मानिएको हाम्रो अस्थित्ब,गरिमा,मर्यादा कशरी उचो बनाउन सकिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित गर्न यस बर्षको तिजले पे्ररणा देओस । तिज पर्वको सबैमा हार्दिक शुभकामना ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation