काठमाडौँ, परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।परराष्ट्र मन्त्रालयलका अनुसार दुवै देशका राजदूतहरूले मन्त्री खनाललाई बुधबार उहाँको कार्यकक्षमा भेट गर्नुभएको हो ।
साउदी राजदूत फहद मोहम्मद ए. मनिख्रसँगको भेटमा दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्ने तथा नेपालको सामाजिक–आर्थिक विकासका विभिन्न क्षेत्रमा साउदी लगानी आकर्षित गर्ने विषयमा छलफल भएकोे थियो ।त्यसैगरी, युएईका राजदूत अब्दुल्ला अल शाम्सीसँगको भेटमा नेपाल–यूएईबीचको दीर्घकालीन सम्बन्ध सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
उहाँहरूबीच आर्थिक साझेदारी अभिवृद्धि, नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा सहयोग बढाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































