झापा, यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रुपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताउनुभयो । उक्त सामुदायिक बनमा जंगली जनावरको संरक्षण गरिँदै आएको छ । जिल्लाका विभिन्न स्थानमा फेला पर्ने जंगली जनावरहरु संरक्षण र उपचारका लागि जामुनखाडी सामुदायिक वनमा सञ्चालित संरक्षण केन्द्रमा पु-याइने गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































