कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।
संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल ९ सय ६८ जना उपभोक्तालाई पत्राचार तथा सूचना उपलब्ध गराएको थियो। यद्यपि, साधारण सभामा करिब १०८ जना उपभोक्ताको मात्र उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष आत्मप्रसाद रिजालका अनुसार संस्थाको विधानमा पहिलो पटक वार्षिक साधारण सभा सञ्चालन गर्न कम्तीमा ५१ प्रतिशत उपभोक्ताको उपस्थिति अनिवार्य हुने व्यवस्था रहेको छ। सोहीअनुसार आवश्यक कोरम पूरा हुन नसकेपछि निर्धारित मितिमा साधारण सभा सञ्चालन हुन नसकी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुभयो।
अध्यक्ष रिजालले संस्थाको विधानअनुसार दोस्रो पटक आह्वान गरिने साधारण सभामा २५ प्रतिशत उपभोक्ताको उपस्थिति भए सभा सञ्चालन गर्न सकिने व्यवस्था रहेको पनि स्पष्ट पार्नुभयो। यसअनुसार आगामी दिनमा पुनः सूचना प्रकाशित गरी वार्षिक साधारण सभा आयोजना गरिने संस्थाले जनाएको छ।



























































































































































