काठमाडौँ, नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९.१५ बजेसम्मका लागि समय तोकेको छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।
पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































