काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्दपूर्ण व्यवहार तथा समन्वयात्मक ढंगले काम भएको स्पष्ट पार्नुभयो । मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गर्नुभयो ।
सचिव अर्यालले मन्त्रालयमा डेढ वर्षको अवधिमा आमसञ्चार, दूरसञ्चार, मुद्रण, चलचित्र, हुलाकलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै त्यसको फलस्वरुप मन्त्रालयले उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चार मन्त्रालयकी सचिव अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा हुनुभएको हो ।
सो अवसरमा सचिव आर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समितिका कानूनसम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी दिँदै अनलाइन समाचारलाई सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)























































































































































