चितवन, चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई राप्तीमा छाडिएका छन् । पछिल्लो पटक सोमबार २० वटा गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा राप्तीमा छाडिएका हुन् ।
ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । यस पटक छोडिएका गोहीहरु सबै पोथी रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही हालसम्म नदीमा छाडिएको छ । केन्द्रमा नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरुलाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । हाल केन्द्रमा ६३० गोही छन् । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































