कैलाली । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार बनेका बिजय बहादुर स्वाँरले चुनावी अभियानमा गरिएका बाचा पूरा गरी सार्वजनिक बताएका छन् । जनतामाझ आफूले बोलेका बाचा अनुसार हरेक वर्ष के कति काम भए वा भएनन् त्यसको सार्वजनिक गर्ने उनले भनाइ छ । एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका स्वाँरले झुठो आश्वासन लिएर जनतामा जान नहुने बताए ।
‘‘झुठो आश्वासनको राजनीति म गर्दिन । झुठो राजनीति मेरो रगतमा छैन, जे बोल्छु त्यही गर्छु’’ उनले भने,–‘‘यही माटोमा हुर्केको, खेलेको हिजो बाबुबाजेले यही धर्तीमा अन्न उत्पादन गर्नुभएको हो । यो धर्तीको ऋण तिर्न आएको हुँ । जनताको सेवा गर्न आएको हुँ । मैले आफूले सक्नेजति मात्रै बोल्छु र गर्छु ।’’ राजनीति सेवा र असल संस्कार हो भन्ने आफ्नो पारिवारिक पृष्ठभूमि रहेकाले सोही मान्यता बोकेर आफू राजनीतिमा लागेको उनले बताए ।
उनले कैलाली क्षेत्र नं.–२ का जनताका आवाज र समस्यालाई पहिचान गर्दै स्थानीय र राष्ट्रिय रुपमा माग सम्बोधनका काम गर्ने प्रतिबद्धता जनाए । भोट दिन अपिल गर्दै निर्वाचन क्षेत्रका मतदाता भेट्न घरदैलो अभियान चलाइरहेका काँग्रेस उम्मेदवार स्वाँर जनताको बलियो अभिमत पाउने आशा र विश्वास रहेको बताए ।
मतदाता रिझाउन मोहन्यालका ग्रामीण बस्तीमा पुगेका काँग्रेस उम्मेदवार स्वाँर मंगलबार कैलालीको मोहन्यालका गाउँपालिकाको केन्द्र कोसेकाँडा, कोल्तडी हुँदै पालिकाको केन्द्र खिमडी पुगेका हुन् ।
कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको मोहन्यालका अधिकांश भुभागमा अझैपनि बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा र यातायात पहुँच पुग्न सकेको छैन ।
















































































































































