कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले निर्वाचन क्षेत्रमा र्याली निकालेको थियो । विभिन्न बाजागाजा र साँस्कृतिक झाँकीसहितको विशाल र्यालीबाट काँग्रेसले आफ्नो उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ ।
सडकका चोकचोकमा निर्वाचन प्रहरी, जनपथ र सशस्त्र प्रहरीको सुरक्षा संयन्त्र खटाइएको थियो । बर्दगोरियाको निमुवाबोझीबाट सुरु भएको र्याली लम्की बसपार्क परिक्रमा गर्दै पेट्रोलपम्प पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा काँग्रेस नेताहरुले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेस उम्मेदवार बिजय बहादुर स्वाँरको जित सुनिश्चित भएको दाबी गरेका थिए ।
निर्वाचन क्षेत्रको विकास प्रमुख एजेन्डा रहेको बताउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि र जेनजी पुस्ताले उठाएका माग काँग्रेसले सम्बोधन गर्ने उनीहरुले बताएका थिए । काँग्रेस उम्मेदवार बिजय बहादुर स्वाँरलाई बलियो उम्मेदवारको रुपमा पार्टीले प्रस्तुत गरेकाले अत्याधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका थिए ।
उक्त सभालाई सम्बोधन गर्दै उम्मेदवार स्वाँरले गत भदौ २३ र २४ को जनभावनालाई आत्मसात गरेर अघि बढेको बताए । उनले भने, ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश’ भन्ने मुल नारासहित नेपाली काँग्रेस देशभर अघि बढेको उद्घोष गरे । स्वाँरले आफू नेता नभइ जनताको सेवक भएको बताए । उनले भने ‘ म नेता होइन, यस क्षेत्रको समग्र विकासका लागि अठोट बोकेर जनताको पक्षमा काम गर्ने एक सेवक हुँ ।’
उनले आफू यहि क्षेत्रमा जन्मेको, हुर्केको हुनाले क्षेत्रको हावापानी, भूगोल, गाउँबस्ती र समस्यासँग परिचित रहेकोे बताए । उनले समुदाय र जनताको सेवामा खटिने प्रतिबद्धता समेत व्यक्त गरे । आफूलाई थारु, दलित महिला पिछडिएका वर्ग, समुदाय र सबै क्षेत्रबासीको आशीर्वाद रहेको उपस्थित जनसागरले पुष्टि गरेकोे र जित सुनिश्चित भएको दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरु उपस्थिति रहेकोे थियो । कोण सभालाई केन्द्रिय सदस्य हिमबहादुर रावल, महासमिति सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौर महासमिति सदस्य वीरबहादुर चौधरी, कार्यबाहक कैलाली सभापति खेमराज चौधरी, लम्कीचुहा नगरप्रमुख शुशिला शाही, समानुपातिक उम्मेदवार तथा क्षेत्र नं. ३ की सभापति रिता चौधरीले आफ्नो धारणा राखेका थिए । र्यालीमा स्थानीय नेताकार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।


















































































































































