दमौली (तनहुँ), प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा एक लाख ३१ हजार ६२० जनाले मतदान गरेको जानकारी दिनुभयो । लम्सालका अनुसार ७१ हजार ३६९ महिला र ६० हजार २५१ जना पुरुषले मतदान गरेका छन् ।
विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा ५५ प्रतिशत मत खसेको थियो । तनहुँ क्षेत्र नं १ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र क्षेत्र नं २ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सङ्कलन भइरहेको छ । क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं २ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ क्षेत्र नं १ मा १६ र क्षेत्र नं २ मा ११ जना उम्मेदवार चुनावी दौडमा हुनुहुन्छ । जिल्लामा १४४ मतदानस्थल र ३०९ मतदान केन्द्र छन् । क्षेत्र नं १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नं २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता थिए । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ तर्फ एक लाख २७ हजार ५१५ मतदाता कायम भएका छन् । क्षेत्र नं १ मा पुरुषको सङ्ख्या ६१ हजार ७७८ र महिलाको सङ्ख्या ६५ हजार १०४ रहेको छ । क्षेत्र नं २ मा पुरुषको सङ्ख्या ६१ हजार ७१३ र महिलाको सङ्ख्या ६५ हजार ८०२ रहेको छ । राष्ट्रिय समाचार समिति (रासस)
















































































































































