महोत्तरी, बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी जिल्लामा ५९.८६ प्रतिशत मतदान भएको छ । जिल्लाका जम्मा चार लाख ३१ हजार २८२ मतदातामध्ये दुई लाख ५८ हजार १५७ ले मताधिकार प्रयोग गरेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गर्ने यो सङ्ख्या कुल मतदाताको ५९.८५ प्रतिशत हो ।
चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा क्षेत्र नं १ का कुल मतदाता एक लाख पाँच हजार ६४६ मध्ये ६६ हजार २६६ ले मतदान गरेका छन् । यो क्षेत्रमा ६२.७२ प्रतिशत मतदान भएको छ । क्षेत्र नं २ मा एक लाख सात हजार ५९४ मध्ये ६४ हजार ८४५ ले मतदान गरेका छन् । यो ६०.२७ प्रतिशत मतदान हो । त्यस्तै क्षेत्र नं ३ मा एक लाख १० हजार ४३६ मध्ये ६१ हजार ७३७ र क्षेत्र नं ४ मा एक लाख सात हजार ६०६ मध्ये ६५ हजार ३०९ ले मतदान गरेका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्षेत्र नं ३ र ४ को मतदान प्रतिशत क्रमशः ५५.९० र ६०.६९ प्रतिशत रहेको कार्यालयले स्पष्ट पारेको छ ।
जिल्लाभरिका २५८ मतदानस्थलका ५३६ मतदान केन्द्रका अतिरिक्त यहाँ कर्मचारी र कारागारका थुनुवा/कैदीका लागि व्यवस्था गरिएका तीनवटा अस्थायी मतदान केन्द्रमा १३८ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले मतपेटिका मतदान केन्द्रबाट मतगणनाका लागि निर्धारित ठाउँमा पुर्याइएको छ । अब चार क्षेत्रका आआफ्ना केन्द्रमा मतगणना कार्यका लागि तयारी थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अब दल र उम्मेदवारबीचको सहमतिबाट तत्काल गणना थालिने मुख्य निर्वाचन अधिकृत अधिकारीले स्पष्ट पार्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

















































































































































