महोत्तरी, प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्जवलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ र स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जिल्लामा १५ राजनीतिक दल र २६ स्वतन्त्र गरी ४१ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा नेपाली कांग्रेसका बजरङ्ग नेपालीले चार हजार ३४२ र जनता समाजवादी पार्टी नेपालका मिनाक्षी ठाकुरले तीन हजार ९४६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, महोत्तरीले जनाएको छ ।
यस क्षेत्रका एक लाख १० हजार ४३६ मतदाता रहेकामा ६४ हजार ४८८ मत खसेको थियो । खसेको मतमध्ये ५९ हजार ४७८ सदर र पाँच हजार १० मत बदर भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)



























































































































































