काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको हक अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
आज ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रकृया र राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महिलाका अधिकार स्थापित गर्ने विषयसहित सुरु भएको महिला आन्दोलनले विभिन्न आरोह अवरोह पार गर्दै ‘सबै महिला र बालिकाको अधिकार, न्याय र कार्यसहितको अवसर’ दिवस मनाइएको उहाँको भनाइ छ ।
“महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै महिलाहरूलाई सम्मान, निर्णय प्रक्रियामा पहुँचको विस्तार, महिला सशक्तीकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउदै लैङ्गिक समानता कायम गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ”, शुभकामना सन्देशमा भनिएको छ ।
उहाँले नेपालको संविधानको धारा–३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमण र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरु अन्त्य गरी पुरुष र महिलाबीच समानाताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)



























































































































































