दमौली (तनहुँ), तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो ।
यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिनुभयो । वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत रु ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ५ सुदीप गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ मानबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
वडा नं ५ वीरबहादुर कामीलाई गोरु क्षतिबापत रु १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत रु ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत रु १८ हजार, निमबहादुर भुजेललाई गोरु क्षतिबापत रु १८ हजार र जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको छ ।
पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ ।
अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई रु दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई रु एक लाख ५० हजार तीन सय, वडा नं ६ का १७ जना कृषकलाई रु दुई लाख ६५ हजार ५०० राहत वितरण गरिएको थियो । राष्ट्रिय समाचार समिति (रासस)




















































































































































