बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।
वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया गाउँपालिकामा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा खाद्यान्न वितरण गरी मनाएका हुन्। जन्मदिनको अवसरमा सहारा घरमा तीन कुण्डल आलु, ३० केजी दाल, ५० केजी बन्दा गोभी, ३० केजी फुल गोभी, एक पेटी तेल, १० केजी लौका, १० केजी भान्टा र एक पेटी स्याउ लगायतका खाद्यान्न सामग्रीहरू वितरण गरेका हुन्।
खाद्यान्न वितरण गर्दै उनले सहारा घरका लागि पहिले देखिनै सहयोग गर्दै आएको र आफूले वडाबाट पनि गाउँ समाजमा दुःख पीडामा परेका नागरिकको लागि आफूले तलब भत्ता नलिएर सहयोग गर्दै आएको र यस्तै दुःख पीडा परेका नागरिकलाई सहयोग गर्न पाउँदा आफ्नो मन खुसी हुने बताए। परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नरहेको बताउँदै उनले केही सहयोग होस् भन्ने उद्देश्यले खर्च कटौती गरेर खाद्यान्न वितरण गरेको बताए।
सहारा घरमा अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका छन् भने कतिपय धेरै जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ। सहारा घरमा हाल १० जनाले स्वयंसेवकको रूपमा सेवा दिइरहेका छन्।




















































































































































