भक्तपुर, चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ ।नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसँगै र तीन तहकै सरकारको वार्षिक रु २० करोडभन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिँदै गएकामा यहाँका बासिन्दा खुसी छन् ।
चाँगुनारायण नगरपालिका–६ वडा कार्यालय अगाडिको खुला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज सम्पन्न सार्वजनिक सुनुवाइमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीले नगरकोटको विकासले फड्को मारेको देखेर खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले नगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारको वार्षिक रु २० करोडभन्दा बढीको लगानीबाट नगरकोटको मुहार फेरिएको बताउनुभयो ।उहाँले भन्नुभयो, “विगत चार वर्षमा नगरकोटले मुहार फेरेको छ, ठेकेदारले अलपत्र पारेको भक्तपुर नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो, नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना भयो, यसक्रममा चाँगुनारायण नगरपालिकासँगै नगरकोटसँग छोएको काभ्रेको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्करापुर नगरपालिकाले नगरकोट जोड्ने सडक कालोपत्र गरे, पर्यटकको आगमन ह्वात्तै बढ्यो, नगरकोटवासीमा खुसी छायो ।”
खानेपानीको ट्याङ्की निर्माण गरि घरघरमा धारो वितरण, बतासेडाँडामा बुद्ध मूर्तिदेखि शालिक, विभिन्न पर्यटकीय संरचना निर्माण, नगरकोट बसपार्कदेखि होटलमा जाने सडकको स्तरोन्नति, स्वास्थ्य, शिक्षाको पहुँचमा वृद्धि, सरसफाइ अभियान, शुक्रबारे हाटबजार, पर्यटकको सुरक्षा यहाँको विकासको गति भएको वडाध्यक्ष लामाले बताउनुभयो ।
नगरकोटमा तामाङ सङ्ग्रहालय बनाउने योजनालाई उपयुक्त विकल्पको खोजी भइरहेको, यहाँ कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको बताउँदै नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायत जनप्रतिनिधिले नगरकोटको विकास देखेर जनप्रतिनिधिको कार्यप्रति खोट लाउने ठाउँ नभएको र सन्तुष्ट रहेको बताएका थिए । कार्यक्रममा वडासचिव राजेन्द्र गणेशले वडामा चालु आवमा यस वडाबाट चालु आव रु एक करोड ४७ लाख विभिन्न शीर्षकमा रावस्व सङ्कलन गरेको बताउनुभयो ।
उहाँले १०० योजना स्वीकृत भएकामा हालसम्म ६२ वटा सम्पन्न भइसकेको र ३८ वटा निर्माणको प्रक्रियामा रहेको १०१ वटा घटना दर्ता गराइएको, चालु आवमा ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पेशल आचार्यले नगरकोटको विकासले यहाँका बासिन्दाको आयस्तरले फड्को मारेको र रोजगार सृजना भएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































