काठमाडौँ, ‘नयाँ विश्व व्यवस्थामा उन्माद, उपचार र सिर्जनात्मक लेखन’ भन्ने मूल विषयमा केन्द्रित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप, २०२६’ सम्पन्न भएको छ ।आठ दिनसम्म चलेका साहित्यिक संवाद, सांस्कृतिक आदानप्रदान, कार्यशाला, कविता वाचन, चलचित्र प्रदर्शन तथा समुदायमुखी कार्यक्रमसहित महेत्वस सम्पन्न भएको हो । महोत्सवले नेपाल तथा विश्वका विभिन्न देशका लेखक, कवि, विद्वान, अनुवादक, चलचित्रकर्मी, शिक्षक तथा विद्यार्थीलाई एकै मञ्चमा ल्याएको थियो ।
गत मे २९ देखि यही जुन ५ सम्म काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक स्थलमा आयोजित महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के स्मिथ र पल मुल्डुन, ब्रुकलिन पोएट लरेट टिना चाङ, द आयरिस टाइम्सका पुस्तक सम्पादक मार्टिन डोयल, प्रख्यात कवि तथा अनुवादक टोनी बार्नस्टोन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज तथा हिमाली कवि युयुत्सु शर्मालगायत एशिया, युरोप, उत्तर अमेरिका, अफ्रिका र अस्ट्रेलियाका ७५ भन्दा बढी लेखक, कलाकार, विद्वान तथा सांस्कृतिककर्मीको सहभागिता थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाबाट उद्घाटन भएको महोत्सवले साहित्य, कला, अध्यात्म तथा चिन्तनशील परम्पराको रूपान्तरणकारी शक्तिमाथि विमर्श गरेको छ । सहभागीले मास्टरक्लास, सिर्जनात्मक लेखन कार्यशाला, प्यानल छलफल, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा काठमाडौँ दरबार क्षेत्र, पाटन, बौद्धनाथ, बूढानीलकण्ठ र नगरकोटका सांस्कृतिक भ्रमणमा सहभागिता जनाउनुका साथै नेपालको सांस्कृतिक तथा आध्यात्मिक सम्पदासँग गहिरो परिचय गरेका थिए ।
साहित्य, कविता र चलचित्रबीचको अन्तरसम्बन्धलाई समर्पित यो नेपालकै पहिलो अन्तरराष्ट्रिय कविता चलचित्र महोत्सव भएको र यस पहलले साहित्यिक कल्पनालाई दृश्य माध्यममार्फत नयाँ अभिव्यक्ति प्रदान गर्दै अन्तरविषयक संवादका लागि नयाँ सम्भावना सिर्जना गरेको महोत्वसका संस्थापक तथा निर्देशक ययुत्सु आरडी शर्माले बताउनुभयो ।
महोत्सवको विशेष आकर्षणमध्ये कविता र चलचित्रको सम्बन्धबारे आयोजित प्यानल छलफल पनि एक थियो, जसमा चलचित्रकर्मी पिटर सालिस्बरी र कारोला मायर तथा इन्स्टिटुटो सर्भान्तेसकी निर्देशक मारिया गिल बर्मान सहभागी हुनुहुन्थ्यो । स्रष्टा अकीरा कुरोसावा, लुइस बुनुएल, जोन बुरम्यान, जाँ ल्युक गोदार, फ्राँस्वा त्रूफो, आन्द्रेज वायदा, वोइचेख हास र क्रिस्टोफ किस्लोभ्स्कीजस्ता विश्वप्रसिद्ध निर्देशकको प्रभावबारे पनि चर्चा गरिएको थियो ।यो अन्तरराष्ट्रिय चलचित्र कार्यक्रम पोलिस इन्स्टिच्युट नयाँदिल्ली, इन्स्टिटुटो सर्भान्तेस, पोर्चुगल दूतावास, अस्ट्रियन कल्चरल फोरमलगायत सांस्कृतिक आदानप्रदानमा भएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

























































































































































