इनरुवा (सुनसरी), इनरुवा नगरपालिका-४ बसचौकबाट आज प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।रामधुनी नगरपालिका-८ का २३ वर्षीय नितेश चौधरी, सोही स्थानका २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका-१३ का ३० वर्षीय मिलनकुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बसचोकमा चेकजाँच गर्ने क्रममा पाँच दशमलव ७७ ग्राम ब्राउनसुगरसहित निजीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
नितेशको दाहिने हातमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ७१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो । त्यसैगरी, पैदल हिँडिरहेका मिलनलाई जाँच गर्दा निजले लगाएको भित्री कपडाको गोजीमा लुकाएर ल्याइएको अवस्थामा पाँच दशमलव शून्य छ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































