
काठमाडौँ । स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् ।यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि, उनले इन्जुरिका कारण प्रतियोगिताबाट पछि हट्ने निर्णय गरेका हुन् ।उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका छन् । उनले भनेका छन्- ‘ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो । जब म मेलबर्न पुगेँ मैले एमआरआई गराए र एक मांसपेशीमा अलिकति चोट लागेको थियो । अब म पाँच सेट खेल्न असमर्थ भएको छु । म अब मेरो डाक्टरलाई भेट्न, उपचार र आराम गर्न स्पेन फर्कदैछु ।’
नाडालले खेलमा फर्कन वर्षभर कडा मेहनत गरेको बताउदै तीन महिनामा उत्कृष्ट फर्ममा रहने लक्ष्य राखेको समेत बताएका छन् । उनले मेलबर्नको अद्भुत दर्शकका अगाडी खेल्न नसकेकोमा दुख व्यक्त समेत गरेका छन् ।गत वर्षको सुरुमा राफेल नाडाललाई पनि मांसपेशीमा चोट लागेको थियो जसका कारण उनले लामो समय कोर्टबाट बाहिर बस्नुपरेको थियो ।नाडालले २००९ र २०२२ मा अस्ट्रेलियन ओपन जितेका थिए । उनले अहिलेसम्म २२ ग्राण्ड स्लाम जितेका छन् ।