बर्दगोरिया राष्ट्रपति रनिङ शिल्ड : बसन्त मुरारी नमूना माविले उचाल्यो उपाधि

कैलाली । कैलाली बर्दगोरियामा जारी गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बसन्त मुरारी नमूना माविले जितेको छ । सोमबार बौनियामा सम्पन्न प्रतियोगितामा १४ स्वर्ण, सात रजत र २ वटा कास्य पदकसहित बसन्त मुरारी नमूना माविले उपाधि जितेको हो । त्यस्तै, ६ स्वर्ण, २ रजत र ८ वटा कास्य पदकसहित बालकन्या मावि दोस्रो भएको छ भने, प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ४ वटा कास्य पदकसहित मोहन्याल मावि तृतीय भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बर्दगोरिया गाउँपालिका भित्रका ६ सामुदायिक र ५ संस्थागत गरि ११ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक र संस्थागतका छात्रा ३७१ र छात्र ७३३ गरी ७३३ जना खेलाडी सहभागि भएका छन् । यस वर्षको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ वटा विधामा १५ इभेन्ट खेलाइएको थियो । प्रतियोगितामा छात्रा र छात्रतर्फका भलिबल, कबड्डी, दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट ज्यावलिङ थ्रो, एथलेटिक्स र मार्सल आर्टस् विधाकाजस्ता खेलहरु खेलाइएको आयोजकले जनाएको छ । विजेता विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, वडा नम्बर २ का वडाध्यक्ष गोविन्द विक, वडा नम्बर १ वडाध्यक्ष एवं सामाजिक विकास संयोजक मिथुन गौतमलगायतले विजेता विद्यालय र पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै, विभिन्न समिति, उपसमितिका शिक्षक र प्रशिक्षक र सहभागी विद्यालयलाई प्रसंशापत्र द्वारा सम्मानित गरिएको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१