यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

काठमाडौं । जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ । समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदैँछ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो । अहिलेसम्म समुह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

 

विश्वकप खेल्ने नेपाली टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापामगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिएका छन् ।

 

यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासँग खेले पछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् ।  सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् । त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१