गण्डकीमा आउने विदेशी पर्यटक बारे अध्ययन: औसत बसाई घट्यो, समस्या समाधान गर्न ध्यानाकर्षण

कास्की । गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ छोटिएको छ । राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको अध्ययनले गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकको बसाइ अवधि घटेको देखाएको हो ।नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ २२ दिन रहे पनि गण्डकी प्रदेश घुम्ने पर्यटकको बसाइँ घटेर १२ दिनमा झरेको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिण अमेरिकी महादेशबाट गण्डकीमा आउने पर्यटकहरु सबैभन्दा बढी १९ दिन बस्ने र सबैभन्दा कम एशियाबाट आउने ९ दिन बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

 

पर्यटकको बसाइ घट्नुमा पदमार्गहरूमा सडक विस्तार, सुरक्षाको अनुभुति नहुनु, प्रभावकारी सूचना प्रणाली अभावलगायत समस्या औँल्याइएको छ । प्रतिवेदनमा प्रदेश भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ रहेको उल्लेख छ । प्रतिवेदनले गण्डकीमा आउने ६२.७५ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला तथा ०.२५ प्रतिशत अन्य विदेशी पर्यटक रहेका छन् ।

 

 

विश्वका ४१ देशबाट गण्डकीमा पर्यटक आउने देखिएको छ भने सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका रहेका छन् । प्रतिवेदनमा पर्यटकहरुले भाषागत समस्या, पर्यटन सूचनाको कमि, यातायातको समस्या, सुरक्षा समस्या जस्ता समस्या भोग्ने गरेको उल्लेख छ । त्यस्तै केहि पर्यटकले फोहोर, बढी भिसा लागत, इन्टरनेटको समस्या, पूर्वाधारको कमी जस्ता समस्या औल्याएको बताइएको छ ।

 

 

 

प्रतिवेदनले पर्यटकीय गतिविधि थप गर्नुका साथै पूर्वाधार विकास गरी बसाइ अवधि लम्ब्याउन सकिने सुझावसमेत दिएको छ । त्यस्तै सडकको अवस्था, स्थिर र सहज ट्याक्सी महसुल, फोहोर व्यवस्थापन, सहज र प्रभावकारी पर्यटन सूचना, भाषागत समस्या गुणस्तरीय होटल, सार्बजनिक शौचालय जस्ता समस्या तत्काल समाधान गर्न सुझाव दिइएको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१